काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलअन्तर्गत आज राति समूह चरणका अन्तिम खेल हुँदैछन् ।
आज हुने समूह ‘ई’ र ‘एफ’का चार खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ ।
आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन् । यो खेल राति पौने १० बजे हुनेछ । समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन् । यी खेल मध्यराति पौने १ बजे हुनेछ ।
पोर्चुगलसँग बदला लिने दाउमा फ्रान्स
अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले आज पोर्चुगलसँग खेल्दै छ । यद्यपि, एक खेल खेल्न बाँकी रहँदा फ्रान्सले कम्तीमा समूहको तेस्रो स्थान पक्का गरेको छ । त्यसैले, आज राति पोर्चुगललाई पराजित गर्दै फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न चाहन्छ।
यता १ खेलमा जित र एक खेल गुमाएको पोर्चुगल आज फ्रान्सलाई हराउँदै समूह विजेताको रुपमा अघि बढ्न चाहन्छ । बराबरीले पनि पोर्चुगलको अघिल्लो चरण जाने सम्भावना जीवित छ ।
हालसम्मको २७ भेटमा पोर्चुगल १९ खेलमा पराजित भएको छ । २ खेल बराबरी हुँदा ६ खेलमा जित निकालेको छ ।
यी टोली युरोकपमा चौथो पटक भेट्न लागेका हुन् ।
यसअघिको ३ भेटमा दुई खेलमा पोर्चुगल पराजित भएको छ भने एक खेल आफ्नो पक्षमा पारेको छ ।
यसअघि सन् २०१६ मा भएको युरोकपमा पोर्चुगलले फ्रान्सलाई उसकै घरमा १–० ले हराएको थियो । खेलको थप गरिएको समयको अन्तिम समयमा अर्थात १०९ मिनेटमा इडेरले गोल गर्दै पोर्चुगललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए ।
सो समयमा फ्रान्स प्रमुख दाबेदार मानिएको थियो । तर, फाइनलमा अन्डरडग मानिएको पोर्चुगलसँग पराजित भएको थियो । यस नतिजाले हालसम्म पनि फ्रान्सका खेलाडीलाई चस्का दिइरहेको बताइने गरेको छ ।
यसर्थ, आज पोर्चुगलविरुद्ध जित निकाल्दै २०१६ को बदला लिने दाउमा फ्रान्स देखिन्छ । यता, क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोसले पनि आफूहरु जितकै लागि खेल्ने बताइसकेका छन् । त्यसैले, आज फ्रान्स र पोर्चुगलबीचको खेललाई रोमाञ्चक हुने अपेक्षा गरिएको छ । फ्रान्सको फरवार्डलाइन मजबुत छ भने पोर्चुगलसँग युवाटोली छ ।