काठमाडौं – अर्जेन्टिना लगातार दोस्रो जित हात पार्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
समूह एअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।
कप्तान लियोनल मेसी र सर्जियो अग्वेरोले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए ।
समूह ए मा अपराजित अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ । पाराग्वे २ खेलबाट ३ अंकिहित तेस्रो स्थानमा छ ।

समूहमा ५ मध्ये शीर्ष चार टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
अर्जेन्टिनाले अब समूह चरणमा बोलिभियासँग खेल्न बाँकी छ ।
त्यस्तै, गएराति भएको अर्को खेलमा उरुग्वे र चिलीबीचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीका बाबजुद चिली ५ अंकका साथ दोस्रो चरणमा पुगेको छ ।
चिलीका इडुवार्डो भार्गासले खेलको २६ औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

तर, खेलको ६६ औं मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।