Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इंग्ल्यान्डले क्रोएसिया हराउँदा बन्यो यस्तो रेकर्ड

इंग्ल्यान्डले क्रोएसिया हराउँदा बन्यो यस्तो रेकर्ड

नेदरल्यान्ड्स र अष्ट्रियाको पनि विजयी सुरुवात
  • सोमवार, जेठ ३१ २०७८

  • 958
    SHARES

  • इंग्ल्यान्डले क्रोएसिया हराउँदा बन्यो यस्तो रेकर्ड

    एजेन्सी – उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिप (युरोकप)मा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार साँझ भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।

    युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्डले उक्त खराब रेकर्डमा पूर्णविराम लगाएको छ । जितसँगै उसले उद्घाटन खेलमा जितेको रेकर्ड बनाएको छ ।

    खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्डले खेलको छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

    नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए । पहिलो हाफमा क्रोएसियाले कुनै पनि गतिलो पोस्ट आक्रमण बुन्न सकेन । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

    लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दिएको पासको सदु्पयोग गर्दै रहिम स्टर्लिङले गोल गरेका थिए । अन्तः यही गोल नै निर्णायक बन्यो ।
    यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल आज राति हुनेछ ।

    यस्तै गएराति नै भएको सी को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीद्वय माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३–१ को जित दर्ता गरेको हो ।

    खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गरेका थिए ।

    दोस्रो हाफको ७८ औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुनः अग्रता लिन सफल भयो ।
    त्यस्तै, नेदरल्यान्ड्सले पनि युरोकपमा विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै घरेलु टोली नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

    आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

    खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को अग्रता दिलाए । दुई गोलले पछि परे पनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

    खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–२ को जित दिलाए ।

    यस जितसँगै समूह ’सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।
    युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । युक्रेन तेस्रो स्थानमा रहेको छ ।


    सोमवार, जेठ ३१ २०७८११:३२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij