काठमाडौं – युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल प्रतियोगिताअन्तर्गत आज समूह ‘सी’ का दुई र समूह ‘डी’को एक गरी तीन खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा समूह ‘डी’मा रहेको इंग्ल्यान्ड र क्रोएसिया भिड्दैछन् । इंल्यान्डको वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
यो खेललाई धेरै फुटबल पण्डितले रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन् ।
तीन वर्षअघि रसियामा भएको विश्वकपको सेमिफाइनलमा यी दुई टोलीबीच रोमाञ्चक भिडन्त भएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समयममा गएको खेलमा क्रोएसियाले गोल गर्दै २–१ ले बाजी मारेको थियो ।
तीन वर्षपछि इंग्ल्यान्ड केही बलियो अवस्थामा आएको छ । यसबीच, क्रोएसियाका केही स्टा खेलाडीले सन्यास दिएका छन् । इंग्यान्डमा भने केही युवा खेलाडी उदाएका छन् । इंग्यान्डको कप्तानी ह्यारी केनले गर्दैछन् भने क्रोएसियाको लुका माड्रिचले ।
इंग्ल्यान्ड घरेलु मैदानमा खेलिरहेकाले त्यसले पनि उसलाई फाइदा पुग्नसक्ने विश्लेषण गरिएको छ ।
अधिकांश इंग्लिस फुटबल पण्डितले आजको खेल इंग्यान्डले जित्ने दाबी गरेका छन् । विश्वकप सेमिफाइनलको नतिजा उल्टिने उनीहरुको अपेक्षा छ ।
समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियासँगै चेक गणतन्त्र र स्कटल्यान्ड रहेका छन् ।
त्यसैगरी, समूह 'सी'अन्तर्गतका दुई खेल पनि आजै हुनेछन् । जसमा अष्ट्रिया र नर्थ मेसेडोनिया ९ः४५ बजे आमने सामने हुनेछन् ।
साथै, मध्यराति १२ः४५ मा नेदरल्यान्डस् र युक्रेन भिड्नेछन् ।