एजेन्सी – खेलकै दौरान मैदानमा ढलेका डेनमार्कका स्टार फरवार्ड क्रिस्टियन एरिक्सन खतरामुक्त रहेका छन् । अहिले उनको अवस्था ठीक तर स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेनिस फुटबल फेडेरेसनले पनि अहिले एरिक्सनको अवस्था ठीक रहेको जनाएको छ ।
युरोकप -२०२० अन्तर्गत गएराति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएरपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।
बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो ।
झन्डै डेढ घन्टापछि खेल शुरु हुदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको छ ।