काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित नेताहरू वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको यादव पक्षले जनाएको छ ।
चार नेतालाई कारबाही गरिएकोबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको जनाएको छ ।
कारबाहीमा परेका नेताहरूलाई यादव पक्षले यसअघि दुई पटक स्पष्टीकरण सोधेको थियो ।
पछिल्लो समय २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, ठाकुर पक्षले भने जवाफ दिएको थिएन । उल्टै ठाकुर पक्षले पनि यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी सरकारमा समावेश हुने सहमति समेत गरिसकेको छ । ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा छ ।
यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।
यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफूनिकट नेतासँग छलफल गरिरहनुभएको छ ।
जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ ।