Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको प्रधानमन्त्रीको दाबीमा विज्ञहरु के भन्छन्?

नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको प्रधानमन्त्रीको दाबीमा विज्ञहरु के भन्छन्?

  • शनिवार, बैशाख २५ २०७८

  • 1.9K
    SHARES

  • नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको प्रधानमन्त्रीको दाबीमा विज्ञहरु के भन्छन्?

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमै रहेको दाबी अन्तरराष्ट्रिय सञ्चार माध्यममा गरेपछि नेपालमा त्यसको विरोध सुरु भएको छ । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री ओलीले झुटो दाबी गरेको भन्दै विरोध जनाइरहेका छन्।

    दैनिक संक्रमण र मृत्युदर बढिरहेका बेला संक्रमण नियन्त्रणमै रहेको दाबी गरेर प्रधानमन्त्रीले विश्व समुदायसँग नेपालको वास्तविकता लुकाउने प्रयास गरेको उनीहरुको आरोप छ ।

    दैनिक हजारौँको संख्यामा संक्रमण थपिँदै गर्दा अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितहरुको ज्यान गइरहेको तर प्रधानमन्त्रीले झुटो दाबी गरेर वास्तविकता लुकाएको भन्दै सामाजिक सञ्जालमा बहस छेडिएको हो ।

    अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई आज बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमै रहेको दाबी गर्नुभएको थियो ।

    अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाएपछि त सञ्जाल प्रयोगकर्ताहरु झनै आक्रोशित भएका छन् ।

    संक्रमण फैलिने क्रम जारी रहेकै बेला ठाउँ ठाउँमा सरकारी आमसभा गरेर विशाल सभा कत्रो हुन्छ हेर्न आउनु भन्दै विपक्षीहरुलाई धम्की दिएको हामीले बिर्सेका छैनौँ भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको हो ।

    पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा गर्नुभएको छ । तर जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमणको दोस्रो लहर फैलिनुमा सरकार र नागरिक दुवै उत्तिकै जिम्मेबार रहेको बताउनुभयो ।

    नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर नरहेको प्रधानमन्त्रीको दाबीमा भने विज्ञहरु सहमत छन् । जनस्वास्थ्यविद डा. पाण्डेले केही हदसम्म लापर्वाही भए पनि नेपालमा संक्रमण नियन्त्रण बाहिर रहेको भन्न नमिल्ने बताउनुभयो ।

    दैनिक लाखौँ संक्रमित थपिँदा र झण्डै चार हजारको हाराहारीमा मृत्यु हुँदा समेत छिमेकी राष्ट्र भारतले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको नभनेको उल्लेख गर्दै उहाँले नेपालको संक्रमणलाई अहिलेको स्वास्थ्य प्रणालीले जसो तसो थेगिरहेको बताउनुभयो । तर अवस्था नियन्त्रण बाहिर जाने जोखिमलाई भने नकार्न नमिल्ने उहाँले बताउनुभयो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले पनि नेपालको अवस्था नियन्त्रण बाहिर नरहेको बताउनुभयो । तर खराब व्यवस्थापनको शिकार अहिलेको स्वास्थ्य प्रणाली भइरहेको उहाँले आरोप लगाउनुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खराब व्यवस्थापनको सिको अहिले अस्पतालहरुले गरिरहेको उहाँको भनाई छ । संक्रमणको सुरुवातदेखि अहिले दोस्रो लहरसम्म आइपुग्दा समेत सरकारले चुस्त व्वस्थापनमा ध्यान दिन नसक्दा नागरिकहरुले ज्यान गुमाउनुपरिरहेको उहाँको आरोप छ ।

    विज्ञहरुले नेपालमा संक्रमण नियन्त्रण बाहिर नरहेको बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय पहिले संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो ।

    अस्पतालमा बेड पु¥याउन नसकिने अवस्था आउन थालेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेपछि त्यसको चौतर्फी निन्दा भएको थियो ।

    अहिले पनि सरकारले आन्तरिक रुपमा गर्ने सर्कुलर तथा सूचनाहरुमा नेपालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको बताउने गरेको छ ।


    शनिवार, बैशाख २५ २०७८०७:५१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij