काठमाडौं । नागरिक अगुवा डा.सुन्दरमणि दीक्षितले कोरोना भाइरसको पुनः संक्रमण हुनसक्ने विषयलाई सरकारी तहबाटै नजरअन्दाज गरिएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्क नेपाली बहसमा पत्रकार ऋषि धमालासँग कुरा गर्दै उहाँले सरकार, राजनीतिक दल र आम सर्वसाधारण सबैको लापरवाहीले कोरोनाको पुनः संक्रमण भयावह बन्नसक्ने टिप्पणी गर्नुभयो ।
उहाँले भारतसँग खुला सीमा भएका कारण कोरोनाको पुनः संक्रमण नेपालमा भित्रने खतरा बढेको उल्लेख गर्नुभयो । सीमा क्षेत्रबाट कोरोना भित्रने भएकाले नाकाहरुमा कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने डा.दिक्षीतको भनाइ छ । उहाँले सीमामा कडाई गर्न लापरवाही गरेमा कोरोनाको खतरनाक लहरले फेरि नेपाललाई थलाथला पार्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले अहिले सरकारले र राजनीतिक दलले आन्तरिक झगडा त्यागेर कोरोना भाइरसबारे नागरिकहरुलाई फेरि सचतेना दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो,“राजनीतिक दललाई म अनुरोध गर्दछु, पार्टीभित्रका विवाद केहि समय छोड्नुहोस्, राष्ट्रका जनतालाई कोरोनाबारे सचेतना आवश्यक भइसकेको छ त्यसतर्फ ध्यान दिनुहोस् ।”
भारतमा कोरोनाको संक्रमण नेपालमा पनि भित्रने सम्भावना धेरै बढेको बताउँदै डा.दिक्षीतले अहिले राजनीतिभन्दा बढी कोरोना नियन्त्रण महत्वपूर्ण विषय बन्नुपर्ने दावी गर्नुभएको छ ।