Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ज्यान दिने तर स्पष्टीकरणको जवाफ नदिने भीम रावलको घोषणा

ज्यान दिने तर स्पष्टीकरणको जवाफ नदिने भीम रावलको घोषणा

  • सोमवार, चैत्र ९ २०७७

  • 1.2K
    SHARES

  • ज्यान दिने तर स्पष्टीकरणको जवाफ नदिने भीम रावलको घोषणा

    काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

    पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग एमालेले स्पष्टीकरण माग गरेको छ ।

    तीन दिनभित्र स्पष्टीकरणको जबाफ पेश नगरे पार्टी विधान अनुसार कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी पनि दिइएको छ । तर अवैध केन्द्रीय कमिटि मार्फत निर्णय गरिएको स्पष्टीकरणको जवाफ दिन आफूहरु तयार नरहेको एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो ।

    उहाँले बरु कारबाही सहने तर ओलीका अगाडि झुकेर पार्टी विधान विपरीतको कार्यमा आफूहरु संलग्न नहुने घोषणा गर्नुभयो ।

    एमाले महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा माधवकुमार नेपाल अब पार्टीको वरिष्ठ नेता नरहेको जनाउ पनि दिइएको छ ।

    स्पष्टिकरण पत्रमा नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गरिएको छ ।
    ‘कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्काशन गरेको’, नेता नेपाललाई सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

    त्यस्तै अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको ? एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको जस्ता आरोप लगाउँदै जवाफ मागिएको छ ।

    तर यो स्पष्टीकरणको कुनै अर्थ नभएकोले जवाफ नदिने माधव समूहका नेताहरुले बताएका हुन्् । उपाध्यक्ष रावलले फागुन २८ गते ओलीले गरेका निर्णयहरु पार्टी विधान विपरीत, अराजक, अनुशासनहिन, मनपरी, निरंकुश र स्वेच्छचारी भएको आरोप लगाउनुभयो । उहाँले बरु ज्यान दिन तयार रहेको तर अवैध ढंगले सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताउनुभयो ।

    कारबाही सहने तर ओलीसँग नझुक्ने अडान स्पष्टीकरण सोधिएका नेताहरुले लिएपछि एमाले विवाद तत्काल साम्य हुने देखिन्न । यता अब ओली सरकार नै निरन्तर रहने कि नयाँ सरकार गठन हुने भन्ने विषय पनि अझै सफा भएको छैन ।

    एमाले नेताहरु माओवादी केन्द्रलाई सरकारमाथिको समर्थन फिर्ता लिन चुनौती दिइरहेका छन् । पूर्वमन्त्री समेत रहेका सांसद शेरबहादुर तामाङले सरकारलाई अनैतिक भन्ने माओवादी केन्द्रले फ्याट्ट समर्थन फिर्ता लिए भो नि त भन्दै चुनौति दिनुभयो।

    यता माओवादी केन्द्रले उपयुक्त समय आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ । नेता देव गुरुङले राजनीतिमा नैतिकताको विषय ठूलो हुने बताउनुभयो । संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहोला भन्नेमा आफूहरु रहेको बताउँदै उहाँले तर अब विधि अनुसार नै उहाँलाई हटाइने संकेत गर्नुभयो ।

    माओवादी केन्द्रका कतिपय नेताहरुले केही दिनमै केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने दाबी गरिरहेका छन् । कांग्रेसको नेतृत्वको नयाँ सरकार गठन हुने उनीहरुको दाबी छ । तर कांग्रेसले भने आफ्नो नेतृत्वको सरकार बन्ने सुनिश्चित अझै भइनसकेको बताएको छ ।

    आज बसेको कांग्रेस पदाधिकारीको बैठकपछि नेता रमेश लेखकले कांग्रेसको नेतृत्वको सरकार बन्ने विषय निश्चित भइनसकेको प्रतिक्रिया दिनुभएको छ ।

     


    सोमवार, चैत्र ९ २०७७०७:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij