काठमाडौं । पाल्पाको माथागढी गाउँपालिकाले युवा वर्गलाई कृषिमार्फत स्वरोजगार बनाउन विभिन्न नीति अघि सारेको छ ।
नेपाली रेडियो नेटवर्कको कृषि सन्दर्भ कार्यक्रमसँगको कुराकानीका क्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले युवाहरुलाई कृषिबाटै आत्मनिर्भर बनाउन विभिन्न नीति तथा कार्यक्रम तय गरिरहेको जानकारी दिनुभयो ।
उहाँले परम्परागत कृषिलाई आधुनिकिकरण गर्न केहि समय लाग्ने उल्लेख गर्दै गाउँपालिकाका प्रत्येक वडामा जे कृषि उपजको बढी सम्भावना छ त्यसैको पकेट क्षेत्र बनाएर कृषकहरुलाई प्रोत्साहित गरिरहेको बताउनुभएको छ ।
यो वर्ष कृषकहरुलाई १ करोड २० लाख बराबरको अनुदान दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष थापाले स्पष्ट पार्नुभयो ।
गाउँपालिकामा कृषि र पशुपालनका पकेट क्षेत्र निर्धारण गरि कृषि समूह र सहकारीमार्फत उत्पादित उपजहरुलाई बजारसम्म लग्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
बिश्वभर फैलिएको कोरोना भाइरसले अन्य क्षेत्रजस्तै कृषि क्षेत्रलाई पनि धेरै प्रभावित गरेको बताउँदै अध्यक्ष थापाले जिविकोपार्जनमुखी कृषिलाई व्यावसायीकरण गर्ने योजनाका साथ काम भईरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष थापासँग गरिएको कुराकानी सुन्नुहोस् :