काठमाडौँ – बिरामी भएर काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन्।
नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताउनुभयो ।
गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उहाँको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौँको अक्षयकोष यसअघि नै स्थापना गरेको उल्लेख गर्दै उहाँले सरकारले दिने भनेको रकमले औषधि पनि किन्न नपुग्ने बताउनुभयो ।