विराटनगर – नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने बताउनुभएको हो।
उहाँले अहिले विपक्षमा रहेका दलहरुबीच भावी सत्ता गठबन्धनका बारेमा सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
‘हामी छलफलमै छौँ। एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौँ’, कोइरालाले भन्नुभयो।
महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीसँग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने बताउनुभयो ।
फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनका लागि कामहरु भइरहेको र अब महाधिवेशन नसर्नेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो।