काठमाडौं । एमालेका नेता तथा सांसद यज्ञराज सुनारले बिहिबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा सहभागी हुने सम्भावना कम रहेको बताउनुभएको छ ।
पार्टीमा देखिएका समस्याबारे गहन छलफल गरी एकतावद्ध बनाउनुपर्नेमा जोड दिँदै उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमालेलाई जनअपेक्षाअनुसार सुदृढ एकतामार्फत अघि बढाउन चाहेपछि मात्र बैठकमा उपस्थिती हुने उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुनारले भन्नुभयो,“एमाले पार्टी एक जनाको मात्र नभएर सामूहिक पार्टी हो, पार्टी अध्यक्ष ओलीजीले नीजि कम्पनीको जसरी पार्टी एकलौटीरुपमा चलाउनुभएको छ, जुन गलत प्रवृति हो, गल्ति सच्याएर पार्टी एकता सुदृढ बनाउने भुमिका पार्टी अध्यक्षको सबैभन्दा बढी हुनुपर्ने हो ।”
उहाँले पार्टी एकता जोगाउन अध्यक्ष ओलीले भुमिका खेल्न नसकेको आरोप पनि लगाउनुभएको छ । नेता सुनारले ओलीले एकलौटीरुपमा पार्टी चलाउन खोज्दा एमाले विभाजन हुन पुगेको दावी गर्नुभयो ।