काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेपनि सर्वोच्च अदालतले ब्युँताइदिएपछिको प्रतिनिधिसभाको बैठक आज पहिलो पटक बस्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेपनि सर्वोच्च अदालतले यही फागुन ११ गते संसद पुनस्र्थापित गरिदिएको थियो ।
संसद विघटन असंवैधानिक भएको भन्दै विघटन सम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए ।
ती मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको नियत खराव हुन सक्ने आशंकाबीच १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन निर्देशन दिएकाले आज अपरान्ह ४ बजे सरकारले बैठक बोलाएको हो ।
तीव्र राजनीति विवाद र अन्योलका बीच बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । आजदेखि सुरु हुने संसद अधिवेशनमा प्रधानमन्त्री ओलीका विरुद्धमा अविश्वासको प्रस्ताव पेश हुदै नयाँ सरकार गठनसम्मका काम हुने संकेत देखिएको छ । प्रधानमन्त्री ओली आफैंले विघटन गरेको संसदमा फेरि उपस्थित हुन लाग्नु भएको छ ।
नेकपाको दुवै पक्षले संसदीय दल र दलको नेता छुट्टा छुट्टै बनाएको, प्रमुख सचेतक पनि छुट्टा छुट्टै बनाएको भएपनि औपचारिक रुपमा विभाजित हुन बाँकी नेकपाले संसदमा खेल्ने भूमिका नै बढी चासोको विषय बनेको छ ।
त्यसैगरी सभामुखको भूमिकाको विषयलाई पनि चासोका साथ हेरिएको छ । उहाँको भूमिका पक्षपातपूर्ण भएको भन्दै ओली पक्षीय सांसदहरुले संसद बैठक अवरुद्ध गरी अविश्वासको प्रस्ताव दर्ता गर्न नदिने संभावना पनि रहेको नेताहरुले बताएका छन् ।