Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

पशुपतिमा महाशिवरात्रिको तयारी, भौतिक दूरीकाबीच दर्शन गर्ने व्यवस्था

पशुपतिमा महाशिवरात्रिको तयारी, भौतिक दूरीकाबीच दर्शन गर्ने व्यवस्था

  • शनिवार, फाल्गुण २२ २०७७

  • 572
    SHARES

  • पशुपतिमा महाशिवरात्रिको तयारी, भौतिक दूरीकाबीच दर्शन गर्ने व्यवस्था

    काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

    कोरोना भाइरसको त्रास कायमै रहेका बेला कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।

    यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ ।

    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गरेको थियो ।

    कोषले महाशिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी शुरु गरेको छ ।

    महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।

    फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ ।

    महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि शुरु गर्दै छ । महाशिवरात्रिका दिन भने पाँच हजार १०० र ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ ।

    पशुपतिमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ । मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ ।


    शनिवार, फाल्गुण २२ २०७७०९:४३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij