काठमाडौं । साविक विजेता टोली लिभरपुल प्रिमियर लिग फुटबलमा चेल्सीसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १–० गोल अन्तरले पराजित भएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन मसोन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा माउन्टले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।
यता, घरेलु मैदानमा लिभरपुलले पकड जमाउन भने सकेन । लिभरपुलले पछिल्ला पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ ।
जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगमा २७ खेल खेलेको चेल्सीले ४७ अंक जोडेको छ । पराजित लिभरपुल ४३ अंकसहित तालिकाको सातौं स्थानमा छ ।
यस्तै, प्रिमियर लिग फुटबलमा टोटेनहमले जित साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
फुलहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले आत्मघाती गोलबाट जित निकाल्न सफल भएको थियो ।
खेलको १९ औं मिनेटमा फुलहमका टोसिन अद्रोवियोले गरेको आत्मघाती गोलले टोटेनहमले जित निकाल्न सफल भएको थियो ।
जितसँगै लिगमा २६ खेल खेलेको टोटेनहमले ४२ अंक जोडेको छ । टोटेनहम तालिकाको आठौं स्थानमा छ ।