काठमाडौं । सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुक्रबार (आज)देखि बाँकेको नेपालगञ्ज रंगशालास्थित कर्भडहलमा सुरु हुँदै छ ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो ।
आयोजक बाँके जिल्ला भलिबल संघका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, होङ्वान्जी न्यु डायमन्ड र स्थानीय टोलीकारुपमा लुम्बिनी युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।
राउन्ड रोबिन लिगमा सहभागी टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
संस्करणको विजेताले नगद ५ लाख पुरस्कार पाउने छ भने उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैँया पुरस्कार पाउने छन् ।
यसपालि विदेशी टोली प्रतियोगितामा सहभागी नहुने भएका छन् । भारत र बंगलादेशको टोलीलाई बोलाउन प्रयास गरे पनि कोरोना भाइरसका कारण प्रयास असफल भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आजदेखि २५ गतेसम्म हुने भएको हो ।