काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक आह्वान गर्नुभएको छ ।
परिषद् प्रमुख तथा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने परिषद्को बैठक विशेष अवस्थामा बस्ने गर्छ । अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको छ भन्ने गम्भीर चासो पैदा भएको छ ।
देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार यो बैठक बस्ने गरे पनि अहिले भने विभिन्न अड्कल गर्न थालिएको छ ।
संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने बताइरहेका बेलामा यसरी बस्दै गरेको बैठकबाट कतै प्रधानमन्त्री ओली देशमा संकटकाल लगाउन त लाग्दै छैनन् भन्ने विश्लेषणसमेत हुन थालेको छ ।
विभिन्न राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको अभ्यास छ ।
एकातिर प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना भए आन्दोलन गर्ने चेतावनी शनिबार विराटनगरमा आयोजित कार्यक्रममा दिनु र अर्कातिर सुरक्षा परिषद्को बैठक बोलाउँदा विभिन्न अड्कल गरिनु स्वभाविकै हो ।
ओलीले संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा दलका नेता तथा कुटनीतिक वृत्तसँगसमेत छलफल गरिरहेको बुझिएको छ । उहाँले सुरक्षा निकायका प्रमुखसँग पनि परामर्श लिएको स्रोतको दाबी छ ।
यता, आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान साढे १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । सुरक्षा परिषद्को बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेकाले अर्थपूर्ण रुपमा हेरिएको हो ।
यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।
परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबार बिहान डाकिएको बैठक नियमित भएको प्रतिक्रिया दिनुभएको छ ।
यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गर्नुभएको थियो ।