एजेन्सी । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब च्याम्पियन युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टाेसँग २–१ ले स्तब्ध भएको छ ।
घरेलु मैदानमा गएराति भएको खेलमा पोर्टाेको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरे । फेडरिको चिइसाले गोल गरे पनि युभेन्टसले हार टार्न सकेन ।
खेलको पहिलो मिनेटमा नै सम्हालिन नपाउँदै पोर्टाेले तारेमीको गोलबाट युभेन्टसविरुद्ध अग्रता लिएको थियो । दोस्रो हाफमा पनि शुरुमै मेरेगाले गोल गर्दै पोर्टाेको अग्रता दोब्बर बनायो ।
८२औं मिनेटमा चिइसाले गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि त्यसपछि गोल गर्न नसक्दा बलियो मानिएको टोली युभेन्टस पराजित हुन पुगेको हो ।
अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । उक्त खेलमा यही नतिजा कायम रहे पोर्टाे क्वाटरफाइनलमा प्रवेश गर्नेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न १–० को जित आवश्यक पर्नेछ ।
त्यस्तै, जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभियामाथि जित निकालेको छ । रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा डर्टमण्डले घरेलु टोली सेभियामाथि ३–२ गोल अन्तरले जित निकालेको हो ।
सेभियाले खेलको ७ औं मिनेटमा सुसोको गोलमा अग्रता बनाएको थियो । तर १९ औं मिनेटमा डर्टमण्डका महमौद दउदले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै खेलको २७ औं मिनेटमा गोल गरेका अर्लिङ हल्याण्ड ४२ औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा डर्टमण्ड ३–१ ले अगाडि रह्यो ।
दोस्रो हाफमा सेभियाका लुक डी जोङले गोल गरे पनि खेलमा फर्कन पर्याप्त भएन । यो सँगै उनले खेलको ८४ औं मिनेटमा पनि अर्को गोल गरेका थिए ।
यी दुई टोलीबीचको दोस्रो लेग १० मार्चमा डर्टमण्डको घरेलु मैदानमा हुनेछ ।