Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा र सूर्य चिन्ह दुवै समूहलाई नदिने निर्वाचन आयोगको तयारी

नेकपा र सूर्य चिन्ह दुवै समूहलाई नदिने निर्वाचन आयोगको तयारी

  • बुधवार, फाल्गुण ५ २०७७

  • 1.6K
    SHARES

  • नेकपा र सूर्य चिन्ह दुवै समूहलाई नदिने निर्वाचन आयोगको तयारी

    काठमाडौँ – निर्वाचन आयोगले नेकपाको आधिकारिकता दुवै पक्षलाई नदिने विकल्पबारे आन्तरिक छलफल थालेको छ ।

    नेकपा र सूर्य चिन्हसमेत निष्क्रिय हुने गरी अघि बढ्ने सक्ने विकल्पमा आयोगले आन्तरिक छलफल थालेपछि नेकपाका दुवै समूह सशंकित बनेका छन् । प्रचण्ड माधव समूहले यसो गर्नु कानुन विपरीत हुने भन्दै खबरदारी गरेको छ भने ओली समूहका नेताहरुले अहिले नै यसबारे प्रतिक्रिया जनाउन हतार हुने प्रतिक्रिया दिएका छन् ।

    विवाद निरुपण गर्ने जिम्मेबारीबाट भागेर आयोगले नेकपा र सूर्य चिन्ह नै फ्रिज गर्ने दाउ खोज्नु कानुन विपरीत हुने प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले बताउनुभयो । दलको विवादलाई निर्वाचन आयोगले म निरुपण गर्दिनँ भन्नै नमिल्ने उहाँले बताउनुभयो ।

    नेकपाको ओली समूह र प्रचण्ड–माधव समूह दुवैले आफ्नो आधिकारिताका लागि आयोगलाई दबाब दिइरहेका छन् । तर जे निर्णय गरे पनि एउटा पक्षले विरोध गर्ने भएपछि दुवैलाई आधिकारिकता नदिने कोणबाट आयोगले आन्तरिक छलफल थालेको हो ।

    सत्तामा रहेको ओली समूहले आयोगको निर्णय नआई यस सम्बन्धमा प्रतिक्रिया दिन कठिन हुने बताएको छ । तर संवैधानिक अंगको निर्णय मान्दिनँ भन्न नपाईँने ओली समूहका नेता सत्यनारायण मण्डलले बताउनुभयो । आयोगलाई यसो गर र उसो गर भनेर दबाब दिने काम भइरहेकोप्रति पनि उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

    संसद विघटनको घोषणासँगै विभाजित बनेको नेकपाको आधिकारिकता कसले पाउने भन्ने विषयमा मुलुककै चासो छ । बहुमतका आधारमा आफूहरुलाई आधिकारिकता दिनुपर्ने प्रचण्ड–माधव समूहको दाबी छ भने महासचिव र प्रथम अध्यक्ष आफूहरुसँगै रहकोले आधिकारिक आफूहरु रहेको ओली समूहको जिकिर छ ।

    दुवै समूहको दबाब थेग्न नसकेपछि आयोग कसैलाई पनि आधिकारिकता नदिने निर्णयमा पुग्न सक्ने अनुमान भइरेहको छ । तर निर्वाचन आयोगका सहप्रवक्ता कोमल धमलाले नेकपा र सूर्य चिन्ह नै फ्रिज गर्नेबारे कुनै छलफल नभएको दाबी गर्नुभयो ।

    केही दिन अघि भैरहवामा आयोजित विरोध सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहलाई फरक–फरक चुनाव चिन्ह दिएर आयोगले छिटो निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो ।

    प्रमुख विपक्षी दलबाट पनि छिटो निर्णय गर्न दबाब परेपछि आयोगले दुवै समूहलाई आधिकारिकता नदिने विकल्पबारे छलफल अघि बढाएको हो ।


    बुधवार, फाल्गुण ५ २०७७०७:५०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij