काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनयुद्ध दिवस मनाएको छ । आज पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरी २६ औं दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी प¥यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताउनुभयो । सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि खतरामा रहेको उल्लेख गर्दै उहाँले त्यसको रक्षाका लागि सबैले संघर्षको मैदानमा उत्रिनुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डसहित, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपाल भने सहभागी हुनुभएको थिएन ।
सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र घाइते, अपांगता भएका तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो ।
तत्कालीन माओवादीले २०५२ सालमा सुरु गरेको १० वर्षे जनयुद्धमा राज्य र विद्रोही पक्षबाट गरी १७ हजारभन्दा बढी नागरिकले ज्यान गुमाए थिए । २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो ।
सशस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।