काठमाडौँ –संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग संयुक्त आन्दोलनका लागि लगातार प्रयास जारी राखेको छ । यसअघि पटक–पटक संयुक्त आन्दोलनका लागि गरिएका प्रस्ताव यी दुवै विपक्षी दलले अस्वीकार गरेका थिए ।
तर मुलुकको राजनीतिक निकासका लागि संसद पुनःस्थापनाको विकल्प नभएको भन्दै संयुक्त आन्दोलनमा आउन प्रचण्ड–नेपाल समूहले फेरि पनि कांग्रेस र जसपालाई लगातार आग्रह गरिरहेको छ । नेकपाको यो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अहिले पनि दुवै पार्टीसँग संयुक्त आन्दोलनका लागि वार्ता भइरहेको छ ।
प्रतिगमनका विरुद्ध एक भएर लड्नका लागि कांग्रेस, जसपा लगायतका प्रमुख दल र नागरिक समाज, वुद्धिजीवी लगायतसँग वार्ता र छलफल भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने अहिले संयुक्त आन्दोलनको कुनै सम्भावना नरहेको बताएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा निटक नेता एनपी साउँदले संसद विघटनविरुद्धको संघर्षमा कांग्रेस सडकमै रहे पनि नेकपाको कुनै समूहसँग संयुक्त आन्दोलनमा जाने कुरा सम्भव नरहेको बताउनुभयो ।
उहाँले अहिले कांग्रेसले सर्वाेच्चको फैसला पर्खिरहेको बताउँदै नेकपाले विभाजनका प्रक्रिया सुरु नगरेकोप्रति आफूहरु आश्चर्यमा परेको बताउनुभयो ।
नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त आन्दोलनका लागि नागरिक समाजका प्रतिनिधिसँग पनि वार्ता भइरहेको बताउनुभएको छ । तर अहिले संसद विघटनविरुद्ध सडकमा उत्रेका नागरिक अगुवाहरुले भने अब दलहरुको मुनिबसेर आन्दोलन नगर्ने बताएका छन् ।
नागरिक अगुवा नारायण वाग्लले कुनै राजनीतिक दलको मातहतमा नभई राजनीतिक दलहरुलाई आफूमुनी ल्याएर जनआन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु गर्ने घोषणा गर्नुभयो ।
यसैबीच राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २० औं सत्याग्रह बस्ने घोषणा गर्नुभएको छ । आफ्नो माग पूरा नभए आगामी फागुन १२ गतेदेखि अनशनमा बस्ने उहाँले जानकारी दिनुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै केसीले संविधानको रक्षा र अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तीको सिफारिस रद्द गर्नुपर्ने माग पूरा नभए अनशन बस्ने घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री केपी ओलीले गत पुष ५ गते संसद विघटनको कदम चालेपछि नेपालमा राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । तर प्रचण्ड–नेपाल समूहसँग संयुक्त आन्दोलनका लागि कांग्रेस लगायतका दल तयार छैनन् ।
कांग्रेसका कतिपय नेताहरु नेकपा कानुनी रुपमा विभाजन नै नभएका बेला उसको कुनै एक समूहसँग मिलेर आन्दोलनमा जाने मुर्खता गर्न नसकिने बताउँछन्।