काठमाडौं । नेकपाको ओली समूहका नेता महेश बस्नेतले दाहाल–नेपाल समूहले आफूले आफैँलाई बादशाहको रुपमा हेरेको टिप्पणी गर्नु भएको छ ।
बस्नेतले अहिले प्रधानमन्त्रीको निणर्यमा देश वरिपरि घुमेको बताउदै यसलाई प्रधानमन्त्रीको खुवीको रुपमा व्याख्या गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता बस्नेतले भन्नुभयो “ निर्वाचन आयोगले नेकपा फूटेको छैन भन्नु प्रधानमन्त्री भएको पार्टी आधिकारिक हो भन्ने संकेत देखिएको छ, निर्वाचन आयोगले विधि र पद्धति अनुसार निर्णय गर्छ, समझदारीमा एक भएको पार्टी समझदारीमा नै फुट्नु पर्छ, माइतीघर मण्डलामा बसेको बैठक बैधानिक हुदैन, आफूले आफैलाई अध्यक्ष मान्नु पार्टीको विधानमा छैन ।”
बस्नेतले पार्टीको नाम र चिन्ह्न ठूलो कुरा नभएको भन्दै दाहाल– नेपाल निर्वाचनमा आउने विश्वास व्यक्त समेत गर्नुभयो । प्रधानमन्त्रीको विकल्पमा अर्काे प्रधानमन्त्री नआउने बताउदै खोज्ने बेला नै नभएको उहाँको भनाई छ ।
अन्य राजनीतिक दलहरु निर्वाचन प्रकृयामा जुटेको नेता बस्नेतले बताउनुभयो । दाहाल – नेपाल समूहले भाग लिएन भने पनि निर्वाचन प्रकृया अब नरोकिने नेकपा ओली पक्षका नेता बस्नेतले बताउनुभयो ।