काठमाडौं । प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ ।
दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ क्यानले आजबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ ।
टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ । पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका लागि अधिकांस टिमले टिमको घोषणा गरिसकेका छन् ।
विभागबाहेक प्रदेश टिमले छनोट प्रतियोगिता गरेर टिमको घोषणा गरेको हो । प्रतियोगितामा सहभागी १० वटै टिम च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् ।
केहि बाहेक राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडीले पीएम कप खेल्ने छन् । तर, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा खेलाडी कुशल मल्लले पीएम खेल्ने छैनन् ।
राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बागमती प्रदेशबाट खेल्ने छन् । उनीहरु युएईमा आयोजना हुने टी टेन लिग खेल्न त्यसतर्फ जाने छन् ।