काठमाडौँ – नेपालमा गणतन्त्र स्थापनापछि मनाउन छोडिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ।
सरकारले पुष २७ गते मनाइने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीलाई मनाउन छाडे पनि नागरिक तहबाट औपचारिक कार्यक्रमहरु आयोजना गरी यो दिवस मनाइने गरिएको थियो।
तर पछिल्लो समय यो दिवसलाई भव्यताका साथ मनाउनपर्ने आवाज बुलन्द हुँदै गएको हो। नेपालमा गणतन्त्र स्थापनाका लागि लडेका दलहरुभित्र पनि एकता दिवस मनाउनुपर्ने मत बलियो हुँदै गएको पाइएको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु राष्ट्र निर्माणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मनाइने राष्ट्रिय एकता दिवस मनाउने निर्णयमा पुग्न पार्टीले लाज मान्न नहुने बताउन थालेका छन्।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज आयोजित एक कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले एकता दिवस मनाउने निर्णय लिन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो।
लाज नमानिकन कांग्रेसले पृथ्वीजयन्ती मनाउनुपर्ने कुरा आफूले सभापति देउवा समक्ष राखेको केसीले बताउनुभयो।
तर सभापति शेरबहादुर देउवाले पृथ्वीजयन्ती मनाउन अहिलेको अवस्थामा नसकिने भन्दै उहाँको प्रस्ताव अस्वीकार गर्नुभयो । देउवाले ‘राजा आऊ देश बचाऊ’ भनेका बेला पृथ्वीजयन्ती मनाउन नसकिने बताउनुभएको हो ।
तर नेपालमा राज संस्था फाल्ने र गणतन्त्र स्थापना गर्ने एजेण्डा आफूहरुको रहेको बताउँदै आएका नेताहरु पनि पृथ्वीजयन्ती मनाउनुपर्ने पक्षमा देखिएका छन् ।
नेकपाका नेता दिनानाथ शर्माले राष्ट्रिय विभूतिहरुलाई सम्मान दिन कन्जुसाई गर्न नहुने बताउनुभयो। तर एकता दिवश तथा पृथ्वीजयन्ती मनाइरहँदा लाग्ने गरेका नाराहरु गलत रहेको उहाँ बताउनुहुन्छ।
केही समयअगाडि काठमाडौँलगायत देशका विभिन्न शहरमा राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै प्रदर्शन भएको थियो।
यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। भोलि पर्ने पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उहाँले नेपाल निर्माणमा आफ्ना पुर्खाको स्मरण गर्नुभएको छ ।
पछिल्लो समयको राजनीतिक अस्थीरता र त्यसले निम्त्याएको परिस्थितिबारे चिन्ता व्यक्त गर्दै उहाँले यो समयमा आफू देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताउनुभएको छ ।
उहाँले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभएको छ ।
त्यसै अनुसार शाह वंशीय परम्परा अगाडि बढेको स्मरण गर्दै उहाँले आफूबाट संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएको बताउनुभएको छ ।