काठमाडौं । चिनी उद्योगलाई उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै माइतीघरमा जारी उखु किसानको आन्दोलनमा किसानको संख्या बढिरहेको छ ।
आज माइतीघरको धर्नामा सहभागिता जनाउन बारा, पर्सा, रौतहट र नवलपरासीका किसान पनि आएका छन् । सुरुमा सर्लाही र नवलपरासीका किसानले सुरु गरे पनि अन्य जिल्लाका पीडित किसान पनि आउन थालेका उखु किसान सघंर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताउनुुभयो ।
बारा पर्सा, रौतहट, नवलपरासी र सर्लाहीबाट पनि थप किसान आन्दोलनका लागि काठमाडौं आएको उहाँले बताउनुुभयो । माइतीघरको आन्दोलनमा सहभागतिा जनाउने किसान संख्या अब तीन सयको हाराहारीमा पुगेको पनि संघर्ष समितिले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारकोतर्फबाट बार्तामा बस्न आज पनि फोन गरेको तर आफूहरुले अस्वीकार गरेको रायले जानकारी दिनुुभयो ।
किसानको हातमा पैसा नआएसम्म कुनै पनि हालतमा वार्ता नगर्ने अडान आफूहरुले लिएको उहाँको भनाइ छ । उखु मिलसंग चार वर्षदेखि पाउन बाँकी झण्डै ९० करोड रुपैयाँ बक्यौता दिलाइदिन माग गर्दै आइतबारदेखि किसानहरु माइतीघरमा आन्दोलनमा छन् ।