एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह जीको अन्तिम खेलमा इटालियन च्याम्पियन युभेन्टसले बार्सिलोनालाई उसकै घरेलु मैदानमा ३–० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।
खेलको १३ औं मिनेटमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई क्याम्प नाउमा अग्रता दिलाएका थिए । रोनाल्ड अरौजोले रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले सानदार भली प्रहार गर्दै गोलरक्षक टेर स्टेगनलाई बचाउने कुनै अवसर दिएनन् ।
दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए ।
खेलको ५८ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीको फ्रिकिकमा एन्टोइन ग्रिजम्यानको हेडर क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
खेलमा दुवै टिमले गोलका लागि थप प्रयास गरे पनि त्यो सम्धव भएन ।
यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भए पनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।
यसै समूहको तेस्रो स्थानमा भने डिनामो किएभ रह्यो । किएभले घरेलु मैदानमा फेरेन्कभारोसलाई १–० ले पराजित गर्दै ४ अंक सहित तेस्रो स्थानमा रहेको हो । फेरेन्कभारोस १ अंक जोड्दै पुछारमा छ ।