एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति ८ खेल हुँदैछन् । आज राति समूह डी, ई, एफ, जी र एचका क्लबहरु आपसमा प्रतिस्पर्धा गर्दैछन् ।
अधिकांश ठूला क्लब प्रतियोगिताको नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने कतिपय क्लब समूहमा समूह विजेता टोलीको टुङ्गो लाग्न बाँकी छ ।
आज सबैको नजर समूह जीमा रहेको छ । सो समूहमा बार्सिलोना र युभेन्ट्स तथा डायनामो किभ र भेरेन्सभारोसबीच प्रतिस्पर्धा हुनेछ ।
यस समूहमा बार्सिलोना र युभेन्ट्सको खेललाई सिजनकै बहुप्रतिक्षित मानिएको छ । बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो लामो समयपछि एक आपसविरुद्ध मैदानमा उत्रँदैछन् ।
यी दुई टोलीबीच यसअघि पनि पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो । तर, सो खेलमा कोरोना भाइरस संक्रमण भएका कारण रोनाल्डो अनुपस्थित थिए । सो खेल बार्सिलोनाले जितेको थियो ।