काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले पार्टीको जारी अधिवेशन उत्साहजनक रूपमा अगाडि बढिरहेको र यसका माध्यमबाट पार्टीमा जोडिन ठूलो संख्यामा नागरिकहरू उत्साहित देखिएको बताउनुभएको छ । नेपाली रेडयो नेटवर्क कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दे सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीले छोटो समयमै ऐतिहासिक उचाइ हासिल गरेको दाबी गर्दै उहाँले वर्तमान अवस्थामा लामिछानेको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
लामिछानेलाई ’त्यागी नेता’को संज्ञा दिँदै पोखरेलले अहिलेको समयमा रास्वपाको नेतृत्वका लागि उहाँ जत्तिको योग्य र उपयुक्त पात्र कोही नभएको विचार व्यक्त गर्नुभयो। यसैगरी, न्यायाधीश नियुक्तिमा हतार–हतार अध्यादेश ल्याइए पनि गृह मन्त्रालय अझै रिक्त रहेको विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले योग्य व्यक्तिको चयन भइरहेकाले केही समय लागेको प्रष्ट पार्नुभयो । हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह आफैँले सम्हालिरहेकाले यसमा डराउनुपर्ने वा आशङ्का गर्नुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाइ थियो ।
साथै, सांसद पोखरेलले पार्टी सभापति रवि लामिछानेको हालै भएको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि ऐतिहासिक सावित भएको दाबी समेत गर्नुभयो।