काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक १ः०५ बजेदेखि सुरु भएको नेकपा सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भए पनि पछि बालुवाटारमा सारिएको हो ।
बैठकमा दुवै अध्यक्षले पेस गरेका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा दुवैतर्फबाट सचिवालयमा पेस गरिएको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्नेछन् । तर, आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्य रहेको दाहाल–नेपाल समूहले ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति बनाएको छ ।
प्रचण्ड नेपाल समूहले दुई अध्यक्षका अहिलेका अलगअलग प्रस्तावलाई साझा बनाउने गरी पहल गर्ने तर सहमति नबने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेर निर्णय गराउने तयारी गरेको बताइएको छ ।