काठमाडौं। गोरखा भूकम्पको आज ठिक १० वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर ०७२ बैशाख १२ गते गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षति पुराएको थियो। जुन कहालिलाग्दो दिन सम्झिँदा अहिले पनि आङ नै जिरिङ्ग हुन्छ।
उक्त भूकम्पमा परि आठ हजार ९७९ जनाको मृत्यु हुँदा २२ हजार ३०९ जना घाइते भएका थिए। भूकम्पले झन्डै १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ५४४ स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त हुँदा ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७०सहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवन, तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको थियो ।
भूकम्पको दशक बितिसक्दा पनि राज्यको अकर्मन्यताले भुकम्पको घाउ अझै निको भएको छैन। सङ्घीय राजधानी काठमाण्डौसहित गाँउघरसम्मै भत्किएका कतिपय घरहरू अझै ठडिन सकेका छैनन्, कतिपय निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवन पुनर्निर्माणकै क्रममा छन्। हजारौं संरचना पुननिर्माणको पर्खाइमा छन्। पीडितहरु पुनस्थापनाको पर्खाइमा छन्।
भूकम्पीय दृष्टिकोणले नेपाल जोखिमयुक्त मुलुकभित्र पर्छ। जसकारण दैनिक १० वटा भूकम्प र पराकम्पन जाने गरेका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार २०७२ पछि पनि मानवीय र भौतिक क्षति पुर्याउने गरी थप ३ वटा भूकम्प गइसकेका छन् भने यो १० वर्षमा गोरखा भूकम्पका करिब ५६ हजार पराकम्पन आइसकेका छन्।
गोरखा भुकम्पपछी २०८० साल कात्तिकमा पश्चिम नेपालको डोटी, बझाङ, जाजरकोट केन्द्रविन्दु बनाएर आएको अर्को विनाशकारी भुकम्पले पुराएको धनजनको क्षतिले नेपालीहरुलाई अझैपनि बेलाबेला झस्काई मात्रै रहेको छैन समयसमयमा प्रताडीत, त्रसित,पीडित बनाइरहेको छ। त्यसक्षेत्रमा पछिल्लो २ वर्षमा ७७ वटा भूकम्प मापन भएका छन्।
गोरखा भूकम्पले १० लाख ३७ हजार घरमा क्षति पुर्याएकोमा ४ लाख घर पुननिर्माण नभएको सरकारी तथ्यांक नै छ।तर ती कस्तो अवस्थामा छन्, पीडितहरुको अवस्था कस्तो छ? सरकारलाई थाहा छैन।
एक दशक बितिसक्दा पनि जोखिम पहिचान भएका क्षेत्रको बस्ती स्थानान्तरण, प्रभावितको पुनस्र्थापनादेखि पीडितलाई अस्थायी आवास उपलब्ध गराउनेसम्मका कार्यमा समेत सरकारी बेवास्ताले २०७२ कै भूकम्पका प्रभावित पनि अझैसम्म पालमुनि तथा टेकोले अड्याएको जोखिमपूर्ण घरमा घामपानि छल्नमात्रै बाध्य छैनन् वर्षातमा झरिले भिज्न र जाडोमा कठ्याङि«न वाध्य छन्।
अस्थायी आवास निर्माणका लागि भने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले करिब ४ अर्ब रकम उपलब्ध गराइसकेको बताएपनि जिल्ला र स्थानीय तहले रकम निकासा नगरिदिँदा पीडितले अझै पाएका छैनन्। निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन्।
तीनिहरुमध्ये ९२ प्रतिशतले दोस्रो र दोस्रो किस्ता प्राप्त गर्नेमध्ये ८९ प्रतिशतले मात्रै तेस्रो किस्ता पाएका छन्। जाजरकोट भूकम्पले क्षति पुर्याएका ९५ हजार घरमध्ये डोटीका ९ हजार ८०५ र जाजरकोटका ३७ हजार ४४० घरधुरीको क्षति आकलन हुँदा बझाङमा क्षति आकलन नै सुरु हुन सकेको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सुचना अधिकारी एवं प्रवक्ता रामबहादुर केसीका अनुसार पुनर्निर्माणका लागि सम्झौता भएका आठ लाख ३४ हजार २६७ रहेकोमा हालसम्म सात लाख ४२ हजार ९२३ र प्रबलीकरणका लागी सम्झौता भएका ३३ हजार ९०५ मध्ये तीन हजार ९२ तथा सात हजार ६७७ सामुदायिक विद्यालय र तीन हजार ४५९ शौचालय, ६३२ सम्पदा, ९२५ स्वास्थ्य संस्था, ४०८ सरकारी भवन, सुरक्षा निकायका २१६ संरचना पुनर्निर्माण गरिएको छ।
एक दशक अवधिमा भूकम्पका कारण साढे ११ लाख घरमा पूर्ण तथा आंशिक क्षति, ९ हजार १४० मानिसको मृत्यु र अर्बौं बराबरको भौतिक क्षति भएको छ। तर उत्पन्न विभिन्न समस्याले पुननिर्माण र पुनस्थापनाको काम बाँकी नै छन्। प्रवक्ता केसीका अनुसार मुख्यतया निजी आवासमा सरकारीभन्दा पनि लाभग्राहीको समस्या छ भने अन्य बाँकी उपत्यका भित्रका सम्पदामा निर्माण कार्यको समस्या छ । यद्यपी अब छिट्टै सम्पन्न हुने विश्वास लिइर्एको छ।
भुकम्पको दशवर्षसम्म राज्य जिम्मेवार नबन्दा र कानमा तेल हालेजसरी नै मौन बनिदिँदा अहिलेसम्म पुननिर्माण र पूनस्थापनाको काम अलपत्रै जस्तो रहेपनि सरकारले भने हरेक वर्ष विनाशकारी गोरखा भूकम्पको स्मृतिमा भूकम्प स्मृति दिवस मनाउँदै आएको छ।
सोहीअनुसार आज ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले भुकम्पले हरेक प्रकारका विपदमा सतर्कता र पूर्वतयारीका लागी पाठ सिकाएको भन्दै सरकारले हरेक विपदका लागी पूर्वतयारीका कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो।
यस्तै सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले धेरै पाठ सिकाएको उल्लेख गर्दै राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भएकोले क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको र सरकार सोही योजनाअनुसार अघी बढेको बताउनुभयो।
भूकम्प प्राकृतिक कारणले जाने भएकोले यसलाई न रोक्न सकिन्छ न छेक्न। तर, पूर्वतयारीसहित सुरक्षित स्थान छनोट र भूकम्प प्रतिरोधी संरचना बनाउने हो भने क्षति कम गर्न सकिन्छ।
सरकारले १९९० सालको महाभूकम्पयता साना–ठूला धेरै भूकम्पले ठुलो जनधनको क्षति भोगिरहे पनि पूर्वसावधानी र प्रतिरोधी संरचनामा ध्यान नपुराउँदा गोरखा र जाजरकोट भूकम्पबाट थप ठुलो क्षति बेहोर्नुपर्यो। अझैपनि सरकार र जनताले आवश्यक सावधानी र सुरक्षामा ध्यान दिएको देखिँदैन।
भूकम्पबाट सुरक्षित रहनु र जोखिम न्युनीकरण गर्नु नै भूकम्पप्रतिको प्रतिकार्य हो। तसर्थ भुकम्पजस्ता विपदबाट बच्न सरकार र आम सर्वसाधरण आफै सजक र सचेत बन्नुपर्छ ।।