Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सशष्त्र द्वन्द्व सुरु भएको २९ वर्ष पुरा, आन्तरिक द्वन्द्वमा माओवादी, पीडितभन्दा प्राथमिकतामा ‘जनयुद्ध’ र ‘हिंसा’ दिवसको बहस (खासखबर)

सशष्त्र द्वन्द्व सुरु भएको २९ वर्ष पुरा, आन्तरिक द्वन्द्वमा माओवादी, पीडितभन्दा प्राथमिकतामा ‘जनयुद्ध’ र ‘हिंसा’ दिवसको बहस (खासखबर)

  • बिहिवार, फाल्गुण १ २०८१

  • 738
    SHARES

  • सशष्त्र द्वन्द्व सुरु भएको २९ वर्ष पुरा, आन्तरिक द्वन्द्वमा माओवादी, पीडितभन्दा प्राथमिकतामा ‘जनयुद्ध’ र ‘हिंसा’ दिवसको बहस (खासखबर)

    काठमाडौं। आज फागुन १ गते, नेपालमा सशष्त्र द्वन्द सुरु भएको ठिक २९ वर्ष पुरा भएर ३ण् वर्ष अर्थात तीन दशकमा प्रवेश गरेको छ ।

    तत्कालीन विद्रोही माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गते रोल्पा,रुकुम, सिन्धुलीका विभिन्न प्रहरी चौकी र गोरखामा बैंक कब्जा गरी जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।

    त्यसपछी निरन्तर जारी माओवादी विद्रोहले उग्र रुप लिँदै उत्कर्षमा पुग्यो । सोही क्रममै २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड घटना तत्कालीन राजा वीरेन्द्रको वंशनास भयो।

    त्यसपछी झनै चर्किएको उक्त संघर्षकै बिचमा २०६१ माघ १९ गते ज्ञानेन्द्र शाहले माओवादी विद्रोह अन्त्य गर्न सरकार असफल भएको भन्दै ‘कु’ गरी शासन सत्ता हातमा लिए।

    ज्ञानेन्द्रको उक्त कदमबाट बिच्किएका तत्कालीन सात दल र विद्रोही माओवादीबिच २०६२ मंसिर ७ गते भारतको दिल्लीमा १२ बुँदे सम्झौता भयो। सोही सम्झौताको जगमा २०६२÷०६३ सालको १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो।

    त्यसपछी २०६३ मंसिर ५ मा विद्रोही माओवादी र सरकारबिच बृहत् शान्ति सम्झौता भएपछि विधिवत रूपमै माओवादी द्वन्द्व अन्त्य भयो भने मुलुकले संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रसँगै संविधान सभाबाट संविधान प्राप्त गर्यो ।

    तर त्यतिबेलासम्म द्वन्दकै कारण १७ हजार नागरिक मारिएका थिए भने हजारौं बेपत्ता र घाइते भएका थिए । जसको अवस्था अझै अज्ञात छ भने पीडित र घाइतेहरुको अवस्था ज्यूँ का त्यूँ छ। तर द्वन्द्वकै जगबाट उदाएका तत्कालिन सुप्रिम कमाण्डर प्रचण्ड पटकपटक देशको नेतृत्वमा पुगेर हालिमुहाली मच्चाइसकेका छन् ।

    आँफु सरकारको नेतृत्वमा भएका बेला प्रचण्डले २०७९ सालमा मन्त्रिपरिषदबाटै जनयुद्ध दिवस मनाउने निर्णय पारितसमेत गरेका थिए । तर सर्वोच्च अदालतले जनयुद्धलाई दिवस मनाउन नमिल्ने भनि रोक लगाएपछी उक्त निर्णय खारेज गरिदियो ।

    त्यसपछी अहिले शान्ति प्रक्रियाको २० वर्ष र द्वन्द्व सुरु भएको ३० वर्ष लाग्दा माओवादी नेताहरु पीडितका समस्याभन्दा द्वन्द्व ‘जनयुद्ध’ हो कि ‘हिंसा’ भन्ने विषयमै रुमल्लिरहेका मात्रै छैनन् आरोप प्रत्यारोपमा देखिन्छन् । सर्वोच्चले नै जनयुद्धलाई दिवस भन्न नपाईने आदेश दिएपनी माओवादीहरु त्यो मान्न तयार देखिदैनन् ।

    प्रचण्ड आँफैले यो मुलुकको युगान्तकारी परिवर्तनको दिन भएकाले राष्ट्रिय दिवस नै रहेको ठोकुवा गर्दै आएका छन्। हजारौं शहिद र वेपत्ता योद्धाको बलिदानीबाट प्राप्त उपलब्धी कसैले मेटाउन नसक्ने भएकोले यो दिवस नै रहेको प्रचण्डको जिकिर छ ।

    यस्तै माओवादी केन्द्रकै महासचिव देव गुरुङ्ग पनि जनयुद्ध दिवस नै रहेको र यहि मनाइने जिकिर गर्छन् । अदालतले समेत परिवर्तन विरोधीको दवाबमा परेर निर्णय गरेको गुरुङ्गको आरोप छ ।

    यता द्वन्दमा सहभागी तत्कालिन माओवादी कमान्डर तथा नेताहरु नै अहिले छिन्नभिन्न अवस्थामा छन्। कतिपयले माओवादी धार नै त्यागेका छन् भने कतिपय अलग्गै पार्टी स्थापना गरेका छन् ।

    त्यतिबेला प्रचण्डकै टिममा रहेका डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, मोहन वैद्य, सीपी गजुरेल, विप्लब, लगायत अहिले उनको साथमा छैनन् । उनिहरुमध्ये केहीले यो दिवस नै रहेको बताउने गरेपनि केहिले भने यो हिंसा नै रहेको ठोकुवासमेत गर्न थालेका छन्।

    त्यसमध्ये आज बाबुराम भट्टराईले जुँगाको लडाई छाडेर जनयुद्ध दिवसको सट्टा जनक्रान्ति दिवस मनाउन प्रस्ताव गर्दा अहिले एमालेमा रहेका रामबहादुर थापा बादल यो हिंसा नै रहेको ठोकुवा गरेका छन्। केही दिन पहिला उनले सार्वजनिक कार्यक्रममै जनयुद्ध हिंसा रहेको ठोकुवा गरेका थिए ।

    यता त्यतिबेला तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भुमिका खेलेको मुलुकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पनि हिंसालाई दिवस मनाउनै नहुने बताउने गरेको छ। कांग्रेस नेता राजेन्द्र केसीले त्यो हिंसा नै रहेको जिकिर गर्नुहुन्छ ।

    यता जानकार तथा विश्लेषकहरु पनि यो माओवादीका लागी मात्रै जनयुद्ध हुनसक्ने र अन्यका लागी हिंसा नै रहेको बताउँछन्। राजनैतिक विश्लेषक मुमाराम खनालले तत्कालिन समयमा माओवादीलाई हिंसाबाट बाहिर ल्याउन अन्य दलहरुले केही कुरा मान्दैमा त्यो जनयुद्ध हुन नसक्ने बताउनुहुन्छ ।

    हिंसामा परेर प्रभावित द्वन्द पीडितका समस्या अहिले पनि ज्यूँ का त्यूँ छन् । यसमा मुख्य गरी माओवादी चुकेको विश्लेषक खनालको टिप्पणी छ। उहाँले अहिले पनि स्वार्थ समुह तत्कालिन पीडक एकठाउँमा र पीडित अर्को ठाँउमा हुँदा पीडित समस्यामा परेको बताउनुभयो। उहाँले राज्य र दलहरुले हिंसामा बेपत्ता भएकाहरुको कि सास कि लास देखाउन सक्नुपर्ने बताउनुहुन्छ ।

    परिवर्तनका नाममा सुरु भएको हिंसात्मक द्वन्दको ३० वर्ष र शान्ती सम्झौताको १९ वर्ष लाग्दासम्म पनि हिंसामा ज्यान आहुति दिने व्यक्ति र परिवार अझै पनि पीडित नै रहिरहनु साच्चिकै दुखद हो।

    यसको नेतृत्वकर्ता प्रचण्ड पटकपटक र बाबुरामले एकपटक देशको बागडोर सम्हालिसकेपनि हिंसात्मक द्वन्दमा परि ज्यान गुमाएका शहिद र बेपत्ता पारिएका व्यक्ति तथा घाइतेको अवस्था ज्यँु का त्यूँ रहदाँ पीडित झनै पीडित बन्न पुगेका छन् ।

    तसर्थ यो अवस्थाबाट अझै बेखबर जस्तो देखावटीपनबाट आफ्नो स्वार्थको रोटी सेक्न जुँगाको लडाईमा भुलेर जनयुद्ध दिवस कि युद्ध ? भन्नेमा नभै देश र जनताको अवस्था की आफ्नो निहित स्वार्थ? भन्नेमा केन्द्रित हुनेतर्फ माओवादी र नेताहरु लाग्न जरुरी देखिन्छ।


    बिहिवार, फाल्गुण १ २०८१०८:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij