काठमाडौं । तराई–मधेशका जिल्लामा शीतलहर र बाक्लो हुस्सुका कारण जनजिवन कष्टकर बनिरहेको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको हो ।
कुहिरोको तह बाक्लिँदै गएर सूर्यका किरण पृथ्वीको सतहसम्म आउन नसकेको अवस्थालाई नै शीतलहर भनिने गरिएको मौसमविद्हरूको भनाइ छ ।
सामान्यतः अन्य अवस्थामा खासै चिसो अनुभव गर्न नपरेको तराई मधेश क्षेत्रका बासिन्दाका लागि लगातार बाक्लो हुस्सुसँगै चिसो वातावरण भोग्नुपर्दा हरेक बर्ष कष्टकर हुने गर्दछ ।
जल तथा मौसम विज्ञान विभागले हिजो तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको थियो । मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको महाशाखाले जनाएको छ ।
अहिले मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु÷कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले तराई मधेशमा मन्द शीतलहर चलेको र भोलिदेखि मौसम खुल्न सक्ने सम्भावना रहेको जनाएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झा शीतलहर हिजोभन्दा आज तुलनात्मक रुपमा कम भएको बताउनुहुन्छ। शीतलहर कहिलेसम्म कायम हुन्छ भन्ने बिषयमा थप मौसमी अवस्थालाई हेरेर बिश्लेषण गरिने मौसमविद् झाको भनाइ छ ।
तराई मधेशमा शीतलहर र बाक्लो हुस्सुले जनजिवन प्रभावित हुँदा काठमाडौं उपत्यकासहित पहाडी भूभागमा भने मौसम सफा देखिएको छ भने दिनभर घाम लागेको छ ।
कतै शीतलहर तर पहाडी भूभाग र काठमाडौं उपत्यकामा माघ महिनामै चर्को घाम किन लागिरहेको छ त ? भन्ने हाम्रो प्रश्नमा मौसमविद् झाले चिसो हावा नचलेकाले पहाडी भूभाग र काठमाडौं उपत्यकाको तापक्रममा गिरावट नआएको बताउनुहुन्छ ।
जाडो बढेसँगै प्रत्येक बर्ष विशेषगरी तराई मधेशका जिल्लामा शीतलहरले जनजीवन प्रभावित हुँदै आएको छ। गरिबीका कारण र स्वास्थ्यमा विशेष ख्याल नगर्दा शीतलहरकै कारण बर्सेनि धेरै जनाकोे मृत्यु पनि हुने गरेको छ ।
शीतलहर वा बढी चिसोको बेला विशेष गरेर बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी बढी जोखिममा पर्ने गर्दछन् । किनभने उनीहरुमा तापक्रम समायोजन गर्ने क्षमता कम हुन्छ । सहजै सबै वातवरणमा समायोजन हुन गाह्रो हुन्छ ।
चिसोले रगत बाक्लो बनाउँने,जाडोमा शरीर धेरै खुम्चने भएकाले रक्तनली साँघुरो हुने र रक्तप्रवाहमा समस्या आउँने चिकित्सकहरुको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी चिसोले श्वासप्रश्वास, छाला, आँखा लगायतमा असर गर्ने र स्वास्थ्यमा अन्य गम्भीर जटिलता आउने बताउनुहुन्छ ।
जाडो समयमा चिसोबाट बच्नु निकै महवपूर्ण हुने डा बुढाथोकी बताउनुहुन्छ । चिसोमा हामीले शरीरलाई न्यानो राख्न जरुरी हुन्छ । त्यसका लागि न्यानो दिने कपडा लगाउनुपर्छ । चिसोमा धुमपान र मध्यपान गरे ज्यान समेत जान सक्ने खतरा रहने डा बुढाथोकी बताउनुहुन्छ ।
घर तातो बनाउने रहरमा सबै झ्याल–ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ । यसतर्फ सचेत रहनुपर्नेमा डा बुढाथोकी आग्रह गर्नुहुन्छ ।
शीतलहरले तराई÷मधेशका जिल्लामा जनजिवन प्रभावित बनेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसोबाट जोगिन विषेश सावधानी अपनाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसाल विगत केही दिनदेखि तराईमा शीतलहर र हिमाली जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताउनुहुन्छ ।
भुसालले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको भुसालले जानकारी दिनुभएको छ ।
यतिबेला तराई÷मधेशका जिल्लामा शीतलहर र बाक्लो हुस्स, हिमाली जिल्लामा हिमपात संगसंगै काठमाडौं उपत्यका लगायत तराई भेगमा वायु प्रदूषण पनि उच्च मात्रामा बढिरहेको छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन आम नागरिक आफै सचेत बन्न जरुरी छ ।
चिसोबाट प्रभावितलाई उचित ध्यान दिन र व्यवस्थापन गर्न राज्य थप चनाखो बनेर अग्रसरता बढाउन अत्यावश्यक छ । ताकि चिसोकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् ।