काठमाडौँ – सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता गराउने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल भएको छ।
गत शुक्रबार प्रचण्डले पेश गरेको उक्त प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीले लगातार पाँच दिनसम्म गरेको प्रयास असफल भएको हो।
बहुमत सचिवालय सदस्यहरुसँगको परामर्शमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई राष्ट्रघातीदेखि भ्रष्टाचारको संरक्षकसम्मका गम्भीर आरोप लगाइएको छ ।
ओली समूहले उक्त प्रस्ताव फिर्ता नभएसम्म पार्टी कमिटीका कुनै बैठक त के संवादसमेत हुन नसक्ने चेतावनी दिएका छन् ।
प्रचण्डको प्रस्ताव फिर्ता नभए पार्टी फुट्नसक्नेसम्मको चेतावनी ओली समूहको छ ।
तर प्रचण्ड–नेपाल समूहले कार्यकारी अध्यक्षले पेश गरेको प्रतिवेदनबारे सचिवालय बैठकमै छलफल हुनुपर्ने अडान लिएको छ ।
दुवै समूह आ–आफ्नो अडानबाट टसमस नभएपछि भोलिका लागि निर्धारित सचिवालय बैठक अन्यौलमा परेको छ ।
ओली समूहका नेताहरुले पार्टीलाई फुटबाट जोगाउन भोलिका लागि निर्धारित बैठक स्थगित गरी दुवै अध्यक्षलाई संवादमा जुट्न सुझाव दिएका छन् ।
नेकपाका नेता सुवास चन्द्र नेम्वाङले दुवै अध्यक्षलाई आफूहरुले भोलिका लागि तोकिएको बैठक स्थगित गरी संवादमा जुट्न सुझाव दिएको जानकारी दिनुभयो ।
आज बिहान महासचिव विष्णु पौडेलले खुमलटार पुगेर भोलिको बैठक स्थगित गर्न प्रस्ताव गर्नुभएको थियो । त्यपछि दिउँसो बालुवाटारमा भएको छलफलमा आफूहरुले प्रधानमन्त्रीलाई पनि सोही आग्रह गरेको नेम्वाङले बताउनुभयो ।
तर प्रचण्ड–नेपाल समूहले भने भोलिको बैठक स्थगित गर्न नमिल्ने बताएको छ । ओली समूहका नेताहरु सहभागी नभए पनि भोलिको सचिवालय बैठक नरोकिने प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् ।
पार्टी प्रवक्ता समेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भोलिको सचिवालय बैठकले स्थगित नहुने बताउनुभयो ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्याभण्डारीबीच भेटवार्ता भएको छ । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।
राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच के कुराकानी भयो भन्ने खुलेको छैन । यसअघि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले नेकपाको विवाद समाधानमा भूमिका खेलिलिन आग्रह गर्नुभएको थियो ।
त्यसलगत्तै शीतल निवासमै प्रधानमन्त्री ओलीसहितका नेताहरुसँग पनि राष्ट्रपतिको भेट भएको थियो ।