काठमाडौं । पछिल्लो समय सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच राजनीतिक द्वन्द्व बढ्दै गएको छ । आजभोलि हुने सार्वजनिक कार्यक्रमदेखि पार्टी बैठकमासमेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकअर्काविरुद्ध आरोप प्रत्यारोपसँगै शत्रुतापूर्ण अभिव्यक्ति प्रकट गरिरहेका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेपछि सत्ताच्युत भएको माओवादीले सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको भन्दै खबरदारी गरिरहेको छ भने प्रधानमन्त्री ओलीले कूप्रचार भइरहेको तर्क गर्दै आउनुभएको छ ।
हिजो बसेको माओवादी केन्द्र स्थायी समितिको बैठकलेसमेत ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकाल्दै सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै आपत्ति जनाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्षसमेत निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौं भ्रष्टाचार गर्नेहरू देशभित्र र बाहिर सम्पत्ति राखेको कुरा छरपष्ट हुँदा पनि छानबिनमा सहयोग गर्नुको साटो झन् भ्रष्टाचारलाई बढवा दिने काम सरकारबाटै भएको आरोप लगाउनुभयो । उहाँले यो सरकारको उद्देश्य भ्रष्टाचारीलाई जोगाउनुबाहेक भित्री मनसाय अरू केही नरहेको तर्क गर्नुभयो ।
माओवादीले सरकारमाथि विभिन्न आरोप लगाईरहँदा प्रधानमन्त्री ओलीले पनि अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले कूप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुःख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाउनुभयो । एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्डको नेतृत्व सक्रिय रहेको उहाँको भनाइ छ । उहाँले आफूविरुद्धको विष काठमाडौं बसेर पचाइदिने बताउनुभयो ।
एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले एकआपसमा दिएको शत्रुतापूर्ण अभिव्यक्तिबारे सत्तासाझेदार अर्को दल नेपाली कांग्रेस भने रमिते बनेको छ । यद्यपि यी दुई ठुला वाम दलबिच स्वार्थ मिल्दा एकअर्काको देवत्वकरण गर्ने, स्वार्थ बाझिँदा एकअर्कालाई राक्षसीकरण गर्ने प्रवृत्ति पहिलेदेखि नै रहँदै आएको छ । राजनीतिक विश्लेषक लोकराज बरालले नेताहरू आपसी द्वन्द्वमा समय बरबाद गरिरहेको टिप्पणी गर्नुभएको छ । जनताका मुद्दामा प्राथमिकतामा पर्नुपर्ने कुराहरू थुप्रै भएपनि कुर्सीको लडाइँमा नेताहरू रमाईरहेको उहाँ बताउनुहुन्छ ।
२०७२ सालमा नयाँ संविधान जारी भएपश्चात् एमाले र माओवादीबिच दुईदुई पटक सत्ता सहकार्य भएको थियो । सत्ता स्वार्थका कारण ०७५ सालमा यी दुई दलबिच पार्टी एकता भएको थियो । पछिल्लो समय गएको फागुन २१ गते ०८४ सालसम्म सत्ता सहकार्य गरी निर्वाचनपछि पार्टी एकता गर्ने सहमति पनि भएको थियो । तर त्यो पनि धेरै समय भने टिक्न सकेन । एमाले र माओवादीले सत्तामा हुँदा एकअर्काको भूमिकाको प्रशंसा गरेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । तर सत्ताबाट बाहिरिएपछि एकले अर्कालाई खुइल्याउने र आफूलाई महान् ठान्ने प्रवृत्ति यी दुई दलमा देखिँदै आएको छ ।
विगतमा जे जस्तो भएपनि अहिलेको समय परिस्थिति भने फरक छ, जनता जागिसकेका छन् । सत्ता होस् या प्रतिपक्ष जनताको मुद्दामा संयमित भएनन् भने आगामी दिनमा ठुलो मूल्य चुकाउन पर्ने निश्चित छ । त्यसैले सरकारमा भएका राजनीतिक दलमात्र नभएर प्रतिपक्षमा रहेका दलहरूले पनि सुशासन, विकास निर्माणसँगै जनजीविकाका सवालमा काम गर्नु बुद्धिमानी हुनेछ ।