Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एमाले–माओवादीबीच राजनीतिक द्वन्द्व बढ्दै, ओली–प्रचण्डद्वारा एकअर्काविरुद्ध आरोप प्रत्यारोपसँगै शत्रुतापूर्ण अभिव्यक्ति प्रकट (खास खबर)

एमाले–माओवादीबीच राजनीतिक द्वन्द्व बढ्दै, ओली–प्रचण्डद्वारा एकअर्काविरुद्ध आरोप प्रत्यारोपसँगै शत्रुतापूर्ण अभिव्यक्ति प्रकट (खास खबर)

नेताहरू आपसी द्वन्द्वमा समय बरबाद गरेर जनताका सवालमा भने चुकेको विश्लेषकको टिप्पणी
  • शनिवार, मंसिर २९ २०८१

  • 918
    SHARES

  • एमाले–माओवादीबीच राजनीतिक द्वन्द्व बढ्दै, ओली–प्रचण्डद्वारा एकअर्काविरुद्ध आरोप प्रत्यारोपसँगै शत्रुतापूर्ण अभिव्यक्ति प्रकट (खास खबर)

    काठमाडौं । पछिल्लो समय सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच राजनीतिक द्वन्द्व बढ्दै गएको छ । आजभोलि हुने सार्वजनिक कार्यक्रमदेखि पार्टी बैठकमासमेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकअर्काविरुद्ध आरोप प्रत्यारोपसँगै शत्रुतापूर्ण अभिव्यक्ति प्रकट गरिरहेका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेपछि सत्ताच्युत भएको माओवादीले सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको भन्दै खबरदारी गरिरहेको छ भने प्रधानमन्त्री ओलीले कूप्रचार भइरहेको तर्क गर्दै आउनुभएको छ ।

    हिजो बसेको माओवादी केन्द्र स्थायी समितिको बैठकलेसमेत ओली नेतृत्वको सरकारप्रति जनतामा तीव्र निराशा रहेको निष्कर्ष निकाल्दै सरकार देशलाई अधोगतितिर धकेल्नतिर लागिपरेको भन्दै आपत्ति जनाएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्षसमेत निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौं भ्रष्टाचार गर्नेहरू देशभित्र र बाहिर सम्पत्ति राखेको कुरा छरपष्ट हुँदा पनि छानबिनमा सहयोग गर्नुको साटो झन् भ्रष्टाचारलाई बढवा दिने काम सरकारबाटै भएको आरोप लगाउनुभयो । उहाँले यो सरकारको उद्देश्य भ्रष्टाचारीलाई जोगाउनुबाहेक भित्री मनसाय अरू केही नरहेको तर्क गर्नुभयो ।

    माओवादीले सरकारमाथि विभिन्न आरोप लगाईरहँदा प्रधानमन्त्री ओलीले पनि अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले कूप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुःख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाउनुभयो । एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्डको नेतृत्व सक्रिय रहेको उहाँको भनाइ छ । उहाँले आफूविरुद्धको विष काठमाडौं बसेर पचाइदिने बताउनुभयो ।

    एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले एकआपसमा दिएको शत्रुतापूर्ण अभिव्यक्तिबारे सत्तासाझेदार अर्को दल नेपाली कांग्रेस भने रमिते बनेको छ । यद्यपि यी दुई ठुला वाम दलबिच स्वार्थ मिल्दा एकअर्काको देवत्वकरण गर्ने, स्वार्थ बाझिँदा एकअर्कालाई राक्षसीकरण गर्ने प्रवृत्ति पहिलेदेखि नै रहँदै आएको छ । राजनीतिक विश्लेषक लोकराज बरालले नेताहरू आपसी द्वन्द्वमा समय बरबाद गरिरहेको टिप्पणी गर्नुभएको छ । जनताका मुद्दामा प्राथमिकतामा पर्नुपर्ने कुराहरू थुप्रै भएपनि कुर्सीको लडाइँमा नेताहरू रमाईरहेको उहाँ बताउनुहुन्छ ।

    २०७२ सालमा नयाँ संविधान जारी भएपश्चात् एमाले र माओवादीबिच दुईदुई पटक सत्ता सहकार्य भएको थियो । सत्ता स्वार्थका कारण ०७५ सालमा यी दुई दलबिच पार्टी एकता भएको थियो । पछिल्लो समय गएको फागुन २१ गते ०८४ सालसम्म सत्ता सहकार्य गरी निर्वाचनपछि पार्टी एकता गर्ने सहमति पनि भएको थियो । तर त्यो पनि धेरै समय भने टिक्न सकेन । एमाले र माओवादीले सत्तामा हुँदा एकअर्काको भूमिकाको प्रशंसा गरेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । तर सत्ताबाट बाहिरिएपछि एकले अर्कालाई खुइल्याउने र आफूलाई महान् ठान्ने प्रवृत्ति यी दुई दलमा देखिँदै आएको छ ।

    विगतमा जे जस्तो भएपनि अहिलेको समय परिस्थिति भने फरक छ, जनता जागिसकेका छन् । सत्ता होस् या प्रतिपक्ष जनताको मुद्दामा संयमित भएनन् भने आगामी दिनमा ठुलो मूल्य चुकाउन पर्ने निश्चित छ । त्यसैले सरकारमा भएका राजनीतिक दलमात्र नभएर प्रतिपक्षमा रहेका दलहरूले पनि सुशासन, विकास निर्माणसँगै जनजीविकाका सवालमा काम गर्नु बुद्धिमानी हुनेछ ।


    शनिवार, मंसिर २९ २०८१०८:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij