काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसले नेपाल र चीनबीच भएको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ (बीआरआई) सम्झौता अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने बताउनुभयो।
‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भन्नुभयो, ‘ त्यसभित्र पनि अनुदान हुन्छ ।’
उहाँले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताउनुभयो।
उहाँले बीआरआई अन्तर्गत मात्र नभएर कुनै पनि देश र दातृ निकायका ऋण नेपालले स्वीकार गर्न सक्ने अवस्था नभएको भन्दै पोखरा विमानस्थल पनि ऋणमा बनेकाले त्यसको प्रतिफल लिन नसकिएको बताउनुभयो।