काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । आजको दोस्रो खेलमा लुम्बिनीले पोखरालाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गर्यो ।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका थिए । उनले लिगको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए ।
चौथो विकेटका लागि कप्तान रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
दोस्रो खेल खेल्दै गरेको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा बलियो योगफलका बाबजुद पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा रहेको छ । लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार ब्यहोरेको हो ।