काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई आजै धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउनुभएको छ ।
त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न उहाँ बालुवाटार पुग्नुभएको हो । यता, अर्का अध्यक्ष ओली सचिवालय बैठक बोलाउन तयार भएको बताइएको छ । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।
प्रचण्डसहित बहुमत सचिवालय सदस्यले बैठक बोलाउन आग्रहसहित कार्तिक २३ गते लिखितपत्र नै ओलीलाई बुझाएका छन् ।
उच्च स्रोतका अनुसार आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार हुनुभएको छ ।
ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिनुभएको बताइएको छ । ओलीनिकट नेता सुवास नेम्वाङले बैठक बोलाउने तयारी भइरहेको बताउनुभयो ।