काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले उपसभामुख इन्दिरा रानाले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताउनुभएको छ ।
उपसभामुख रानाले कानुन, नियम र संविधानविपरित गएर गम्भीर पदीय दुरुपयोग गरेकाले राजीनामा दिनुको विकल्प नभएको नेता अधिकारीको भनाइ छ ।
उपसभामुख रानाले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका पाँच जनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेख्नु पदीय आचरणविरुद्ध रहेकाले नैतिक प्रश्नकाबिच उहाँले स्वविवेकले राजीनामा दिनुहुन्छ भन्ने आफूलाई लागेको नेता अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गण्डकी प्रदेशमा पूर्वमूख्यमन्त्री समेत रहनुभएका नेता अधिकारीले उपसभामुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिबाट गम्भिर त्रुटी भएको टिप्पणी गर्नुभयो ।
यति धेरै प्रकरणहरु सार्वजनिक भइसक्दा र राजीनामाको चौतर्फि माग आउँदासम्म पनि राजीनामा नदिएको अवस्थामा कानुनी संवैधानिक प्रक्रियाहरु सुरु हुने उहाँको भनाइ छ ।
यता उपसभामुख रानाले भने राजीनामा नदिने अडान लिनुभएको छ भने रास्वपाले पनि यसबारेमा प्रतिक्रिया दिँदै यसले सत्तापक्षलाई नै नोक्सानी हुने चेतावनी दिएको छ ।