Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बलियो सरकारसँग कमजोर प्रतिपक्ष हुने सम्भावना,सशक्त भूमिका निभाउने माओवादीको दाबी, माओवादीले नसक्ने विश्लेषकहरुको तर्क (खासखबर)

बलियो सरकारसँग कमजोर प्रतिपक्ष हुने सम्भावना,सशक्त भूमिका निभाउने माओवादीको दाबी, माओवादीले नसक्ने विश्लेषकहरुको तर्क (खासखबर)

  • बुधवार, श्रावण १६ २०८१

  • 1.1K
    SHARES

  • बलियो सरकारसँग कमजोर प्रतिपक्ष हुने सम्भावना,सशक्त भूमिका निभाउने माओवादीको दाबी, माओवादीले नसक्ने विश्लेषकहरुको तर्क (खासखबर)

    काठमाडौं। संसदीय व्यवस्थामा सत्तापक्षका साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका हुने गर्छ । सत्ता सरकारको हुन्छ भने संसद् प्रतिपक्षको । सरकारले सत्ता र शक्तिको आडमा गलत कामकारबाही गर्ला कि भनी खबरदारी गर्ने काम प्रतिपक्षको हुन्छ ।

    सरकारलाई प्रतिपक्षको साथ–सहयोगबाटै राष्ट्रिय हितका पक्षमा ऐतिहासिक कामहरू हुन सक्छन्। वर्तमान परिप्रेक्ष्यमा संसद्का दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि संविधान संशोधनदेखि थ्रेस होल्ड बढाउने र समानुपातिक परिमार्जन गर्ने बताइरहँदा प्रतिपक्षमा पुगेको माओवादी सहित साना दलहरू तरंगित भएका छन् ।

    म्याजिक नम्बर भन्दै कहिले एमाले त कहिले कांग्रेससँग मिलेर सत्ता सहयात्रा गरिरहेको माओवादी प्रतिपक्षमा पुगेसँगै उसको भूमिका कस्तो रहला भन्ने आम चासोको विषय बनेको छ ।

    दुई तिहाइको साथ पाएको वर्तमान सरकारले भने साना दलहरू आत्तिन नपर्ने भन्दै संविधान संशोधनदेखि थ्रेस होल्ड बढाउने र समानुपातिक परिमार्जन गर्ने दाबी गरेको छ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुपरेको दाबी गर्नुभयो ।

    पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेस होल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेस होल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने दाबी गर्नुभयो ।

    यता थ्रेस होल्ड बढाउने सत्तापक्षको एजेण्डाले आत्तिएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाएको आरोप लगाएको छ । साथै अब सदन र सडकलाई जोड्दै संसद्मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने दाबी गरेको छ ।

    पाँच दिनसम्म चलेको माओवादीको पदाधिकारी बैठकले भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने र सदनदेखि सडकसम्म आफ्नो भूमिकालाई प्रभावकारी पार्ने निष्कर्ष निकालेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढंगबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताउनुभयो। उहाँले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको भन्दै अब सदन र सडकलाई निकै प्रभावकारी ढंगले जोड्ने जिकिर गर्नुभयो ।

    यता राजनीतिक विश्लेषक मुमाराम खनालले अहिलेको अवस्थामा माओवादीमा सङ्गठनात्मक स्थिति पनि राम्रो नरहेको र वैचारिक स्खलन पनि अविश्वसनीय रहेकाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नेमा शंका व्यक्त गर्नुभएको छ ।

    यस्तै नेपालका सन्दर्भमा तिन प्रतिशत थ्रेस होल्ड नै पर्याप्त रहेको राजनीतिक विश्लेषक खनाल बताउनुहुन्छ । यदि थ्रेस होल्ड बढाएर साना दलहरूलाई रोक्ने प्रयास गरियो भने कांग्रेस–एमाले बाहेक दलहरू एकठाउँमा आउन सक्ने उहाँको तर्क छ।

    उहाँले संविधानका अन्तर वस्तु के मा र कसरी संशोधन हुन्छ भन्ने विषयले अर्थ राख्ने भन्दै त्यसका परिणामहरू पनि हेर्नुपर्ने बताउनुभयो । अहिले संविधान संशोधन गर्ने एजेण्डासहित संसद्का दुई ठुला दल मिलेर सरकार बनाएपछि प्रतिपक्षमा साना दलहरू मात्र छन् ।

    यस्तो अवस्थामा उनीहरूले कस्तो भूमिका निर्वाह गर्लान् त्यो भने हेर्न बाकी नै छ । तर संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयमा सबै दलहरूलाई मिलाएर लैजानु सरकार र सत्तापक्षका लागि चुनौतीको विषय हो ।


    बुधवार, श्रावण १६ २०८१०८:१७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij