काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले पार्टी कुनै पनि हालतमा विभाजन नहुने दाबी गरेका छन्। मुलुकको आवश्यकताका आधारमा एकीकृत भएको पार्टी विभाजनको कुनै सम्भावना नरहेको उनीहरुको जिकिर छ।
पार्टीमा केही मत मतान्तरहरु देखिएका भए पनि विभाजनको स्थिति भने कुनै हालतमा ननिम्तिने नेताहरुको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओलीकी कट्टर आलोचक भनेर चिनिने नेतृ अष्टलक्ष्मी शाक्यले पनि पार्टी फुट्छ भनेर गरिएको अनुमान भ्रम मात्रै भएको बताउनुभयो।
उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्दै विभाजन गर्छु भन्नेहरु कम्युनिष्ट आन्दोलन विरोधी चरित्र बोकेका व्यक्तिहरु रहेको बताउनुभयो। नेता खिमलाल भट्टराईलाई पनि पार्टी विभाजन हुन्छ भन्ने कुरामा आफूलाई कुनै विश्वास नलागेको बताउनुभयो।
प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई मिल्न नसक्ने भए बरु पार्टी विभाजन गरौँ भनेर प्रस्ताव गरेपछि नेकपा फुट्ने भयो भनेर टिप्पणीहरु भइरहेका छन्। तर नेता भट्टराईले नेताहरुबीच सहमति भएर विवाद समाधान हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।
पर्याप्त छलफल भएपनि निर्णयमा पुग्दा केही चित्त दुखाईका विषयहरु मात्रै अहिले प्रकट भएका बताउँदै उहाँले ती विषयहरु पनि छलफलबाट टुंगो लाग्ने दाबी गर्नुभयो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर भए पनि सरकार ढाल्ने पार्टीभित्रैको षडयन्त्र आफै मत्थर भएर जाने दाबी गर्नुभएको छ। उहाँले जति कोकोहोलो मच्याएपनि अन्तिममा ती विवादहरु आफै मत्थर भएर जाने दाबी गर्नुभयो।
प्रधानमन्त्री ओलीले आफूले तत्काल राजीनामा दिएर देशलाई धोका दिन नसक्ने बताउनुभयो।
पार्टीभित्रैबाट राजीनामाको दबाब आइरहेको प्रसंगमा ओलीले अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बरबादीतिर जान दिनु रहेकोले आफू राजीनामा दिनेवाला नरहेको बताउनुभयो।
यसअघि पनि पटक–पटक प्रचण्ड–नेपाल समूहले ओलीको राजीनामा मागेपछि पार्टी विभाजन नजिक पुगेको थियो । तर अन्तिम समयमा प्रचण्डलाई कार्यकारी अध्यक्षको हैसियत दिने र मन्त्रिपरिषद पुनर्गठनमा भागबण्डा गर्ने सहमतिपछि त्यो रोकिएको थियो ।
तर ती सहमति कार्यान्वयन नभएपछि अहिले फेरि ओलीको राजीनामा मागिएको छ । राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भएपनि ओलीलाई हटाउने रणनीति बनिरहेको थाहा पाएपछि बालुवाटार पनि त्यसको सामनाका लागि शक्ति सञ्चय गरेर तम्तयार भइबसेको छ । दुवै समूह एक अर्काले लिन सक्ने सम्भावित कदमबारे चनाखो छन् ।