काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग–अलग गरौँ भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि त्यो सही नभएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले यसलाई व्यक्तिगत कटुताको विषय बनाउनुभन्दा छलफल, बहसबाट सकारात्मक निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भइ स्वस्थ तथा रूपान्तरणमुखी छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ ।
‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर, त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात व्यक्तिगत कटुतासहितको बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं’, उहाँले लेख्नुभएको छ, ‘पार्टीभित्रको छलफल्,बहश र अन्तसंघर्षलाई ब्यक्तिगत गालि–गलौज र आरोप–प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार, नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं ।’
प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवादबारे तैं चुप मै चुप पनि नगरौं र तुम शेर तो हम सवाशेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं भन्नुभएको छ ।
‘पार्टी एकताको रक्षा गरौं । साथै, पार्टीलाई अकर्मण्य बनाइबिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं’, उहाँले भन्नुभएको छ ।
