काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटको विषयमा एकमत भएर समर्थन गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ।
आज सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसद्मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै आफ्नो पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिनुभएको हो।
पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो,‘अहिले आएको बजेट जनमुखी छ। आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ। तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस् ।’
त्यसक्रममा प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताउनुभएको थियो। बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटबारे ओरेन्टेशन दिदै कार्यान्वयनका लएका थिए। बजेटमाथि जेठ २० गतेबाट छलफल हुँदैछ।