काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बिहीबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ।
पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीय केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताउनुभयो।
उहाँकाअनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ। पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ।
जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ। उहाँले पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको बताउनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के.जी. ६५४ ग्रामको अवैध बजार मूल्य ७ करोड ९६ लाख रहेको बताउनुभयो। निजहरूउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।