च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज (बुधबार) समूह चरणको दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा फराकिलो जित निकालेको बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्स्सँग लिगको दोस्रो खेल खेल्न लागेको हो ।
युभेन्ट्स्को घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने २ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । लिगमा पहिलो खेलमा फराकिलो जित हासिल गरेको बार्सिलोना तीन अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको युभेन्ट्स् दोस्रो स्थानमा छ ।
बार्सिलोनालाई स्टार खेलाडी लियोनल मेस्सीले साथ दिनेछन् । त्यस्तै बार्सिलोनाका युवा खेलाडी अन्सु फाती पनि पछिल्लो समय फर्ममा छन् । यता युभेन्ट्स्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मैदान उत्रने छैनन् । कोरोना भाइरसको संक्रमण भएका रोनाल्डो पछिल्ला केही खेलमा सहभागी छैनन् ।