काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी प्रचण्डमा त्यो रोग सरेको छ । छोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइ नारायण दाहाललाई पार्टीको प्रदेश अध्यक्ष हुँदै राष्ट्रियसभा सदस्य र अहिले अध्यक्षमा उम्मेदवार बनाउँदा प्रचण्ड पार्टीभित्रैबाट आलोचित बनेका छन् ।
ज्वाइँलाई सरकारी नियुक्ति दिलाउनेदेखि प्रदेश सांसदसम्म, काका नाता लगाउनेलाई राजदूतको नियुक्ति हुँदै छोरीलाई मेयरसम्म बनाउँदा परिवारवादको ट्याग लागेको हो । बुहारीलाई मन्त्री बनाउँदा पनि प्रचण्ड विवादरहित बन्न सकेनन् ।
अहिले एमालेसहित बनेको गठबन्धनमा पनि नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष उम्मेदवार बन्दा चौतर्फी आलोचना भइरहेको छ । आफूहरुले भने माओवादीको भागमा अध्यक्ष परेकोले जो सुकैलाई पनि मतदान गर्ने र पार्टीभित्र कसरी मिलाउने भन्नेकुरा माओवादीले जवाफ दिनुपर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।
नेकपा माओवादीभित्रै आलोचनाका स्वरहरु आउँदा नेता एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही भने नारायण दाहालको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुहुन्छ। प्रचण्डको भाइ मानेर हेर्दा मात्रै न्याय नहुने उहाँको तर्क छ। स्थायी कमिटीको पूरानो सदस्यको नाताले उहाँलाई सिफारिस गरिएको शाहीको भनाइ छ।
नेपालको राजनीतिमा परिवारवाद हाबी हुने पूरानो रोग हो। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत यसले निरन्तरता पाउनु दुभाग्र्य पनि हो। बिडम्बना शक्ति र सत्ताका अगाडि आम नेता कार्यकर्ता निरिह देखिएका छन्। राजनीतिक विश्लेषक भेषराज घिमिरेले यो अवस्थाबाट कुनै पनि पार्टी अछूतो नरहेको बताउनुभयो।
प्रचण्ड जसले आम नागरिकलाई ठूलो सपना देखाएर सशस्त्रद्वन्द्वको बिजारोपण गरेका थिए जसको फलस्वरुप आफ्ना वरिपरिका व्यक्तिहरुलाई निकै फलिफाप भइरहेको छ। मुलुकको राजनीतिमा अस्थिर पात्रको उपमा लिएका प्रधानमन्त्री प्रचण्डले नसुध्रिँदा देशको हालत थप जटिल बन्दै गएको छ । सत्ता, स्वार्थ र शक्तिकै उल्झनमा राजनीति घुमिरहेको छ ।