काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको मर्म अनुसार नै अहिले गठबन्धन परिवर्तन भएको जिकिर गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उहाँले गठबन्धन परिवर्तन भएर सरकार पुनर्गठन भएकोप्रति नेपाली कांग्रेसमा निकै ठुलो पीडा र छटपटी देखिएको बताउनुभयो ।
‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन,’ उहाँले भन्नुभयो । दलहरुकाबीचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उहाँले बताउनुभयो ।
संविधान सम्मत् ढंगले विकल्प खोजिएको जिकिर गर्दै उहाँले यो संविधान अनुसार कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने तर्कमा आफू सहमत नरहेको बताउनुभयो । ‘कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन,’ उहाँले भन्नुभयो, ‘०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् । जनताको विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्छन् ।’