एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा (बिहीबार) राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा राजस्थान आफ्नो ११ औं र हैदराबाद आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन्। राजस्थान र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थान पाँचौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। त्यसैले राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ।
डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादलाई पनि यस खेल महत्वपूर्ण रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको हैदराबादलाई प्ले अफ सम्भावना कायम राख्न जित बाहेक अन्य विकल्प छैन । हैदराबादले ९ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । यस्तै हैदराबाद राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो ।