काठमाडौं। माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो,जुन नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। विद्रोही नेकपा माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो।
विसं २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यो युद्ध समाप्त भएको थियो। यो विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो।
बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए । सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धि ६४,००० उजुरीहरू दर्ता भएका थिए जसमध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। आज सोही दिनको सम्झना गर्दै माओवादी र त्यस निकटका दलहरुले जनयुद्ध दिवस मनाएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफूहरु सधैँ शान्तीको पक्षमा रहेकोले हिंसालाई प्रसय दिन नसकिने बताउनुभयो। तत्कालीन समयमा सरकारसँग ४० बुँदै असमझदारी राखेर युद्धमा होमिएको माओवादी आन्दोलनको औचित्य पुष्टि हुनुपर्ने उहाँको तर्क छ।
राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले हजारौँ नागरिक मारिएको र कैँयन घाइते अपांग भएकोले उनीहरुको रक्षा र योगदानमा कति काम भयो भन्ने प्रश्न अनुत्तरित रहेको दाबी गर्नुभयो।
२०४६ सालमा, निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो । तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य संगठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए ।
सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो । विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको शंखघोष गरिएको थियो । तर व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था जस्ताको तस्तै रहेको छ ।