काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै बोल्ने एउटा टुक्का हो, अहिलेको गठबन्धन अपवित्र छ यसलाई जसरी पनि भत्काउन आवश्यक देखिन्छ । हिजो एमाले निकट खेलकुद महासंघको कार्यक्रममै ओली भन्नुभयो, ‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौं एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन् । त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । बुख्याचामात्रै होइन निकम्मा पनि छ ।’ यो सरकारलाई ढाल्नुको विकल्प नभएको उहाँको धारणा थियो । एमाले नेता सूर्य थापाले पनि यो सरकारले जनता र राष्ट्रका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । सरकार राष्ट्रविरोधी र संविधान विरोधी रहेको उहाँको दाबी छ ।
गठबन्धनलाई भत्काउनका निम्ति एमालेले कोशी प्रदेश सरकारमा चालेको कदम होस्, वा केन्द्रमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन खेलेको भूमिका होस् अर्थात्, राष्ट्रियसभामा मागेको भाग होस् कुनैपनि सफल हुन सकेको छैन । सत्ता गठबन्धन दलहरू यो परिस्थितिमा छुटिन तयार छैनन् । कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले सरकार ढाल्ने एमालेको रणनीति फेल हुने दाबी गर्नुभयो । आफूलाई जति सुशासनवादी भनेपनि एमालेभित्र तस्कर र बेथितिको चाङ रहेको आरोप लगाउनुभयो ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डको समृद्धिको नाराबाट सबै दलहरू आत्तिएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धदेखि भ्रष्टाचार नियन्त्रणमा प्रचण्डले खेलेको भूमिका गर्व गर्न लायक रहेको नेता लेखनाथ दाहाल ‘राजन’ को भनाइ छ । संकल्प समृद्धिको रहेकोले विभिन्न प्रयासहरूबाट नै सुशासन ल्याउन सकिने उहाँको धारणा छ ।
गठबन्धन भत्काउने एमाले रणनीति फलामका चिउरा चपाएझैँ भएको छ । सरकार समर्थित दलहरू पनि पहिले भएको सम्झौता अनुरूप नै अघि बढ्ने मुडमा रहेका छन् । राष्ट्रियसभामा पनि एमालेलाई पछार्ने रणनीति लिएका दलहरू आगामी निर्वाचनसम्म पनि मिल्ने छनक देखिएको छ ।